वर्षाद्को पानीले पुरातात्विक महत्वको गोकर्णेश्वर महादेव मन्दिरका काठ, झ्याल, ढोका र टुँडालमा क्षति पुगेको छ ।
मन्दिरमा लगाइएको झिँगटीको छानाबाट पानी चुहिएर काठमा क्षति पुगेको पुरातत्व विभागले जनाएको छ । प्रामाणित अभिलेख नपाइए पनि राजा मानदेवका पालामा निर्माण भएको विश्वास गरिने मन्दिरमा लामो समयदेखि जीर्णोद्धार हुन सकेको छैन । विभागले तामाको छाना र काठ फेर्न बोलपत्र गर्ने तयारी गरेको विभागका प्राविधिक शाखा प्रमुख सम्पत घिमिरेले जानकारी दिए ।
भूकम्पले समेत केही क्षति पुगेको मन्दिरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्वीकृति लिएर काठ र छाना फेर्न लागिएको हो । यसका लागि करीब रु चार करोड लागत अनुमान गरिएको छ । प्राधिकरणको स्वीकृति पाएपछि बहुवर्षीय ठेक्का आह्वान गरिने उनले बताए ।
गोकर्णेश्वर नगरपालिका र स्थानीयवासीले भने तामाको छानामा सुनको लेपन लगाउने उद्देश्यले गत वर्ष महायज्ञको आयोजना गरेको थियो । महायज्ञबाट उठेको तीन करोड ५० लाख, नगरपालिकाले विनियोजन गरेको एक करोड र विभागले दिने एक करोडबाट तामाको छानामा सुनको लेपन लगाइने काम शुरु गरिने नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । थप सहयोग दाताबाट उठाउनुपर्ने उनले जानकारी दिए ।
छानामा सुनको लेपन लगाउन एक महीनाअघि नै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । शिलान्यास भएको एक महीना बित्दा पनि काम शुरु नभएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन् । सुनको छाना हाल्न १६ करोड लाग्ने अनुमान गरिएको छ । रासस