परापूर्वकालदेखि माघे संक्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारूकामा मनाइँदै आएको गोरू जुधाउने पर्वमा यस वर्ष ४७ हल गोरू जुधाइने भएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस वर्षदेखि नुवाकोटको बेत्रावती, तारूका र यसै वर्षदेखि घले गाउँ तथा धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरू जुधाइने जानकारी दिएको हो। नुवाकोटको तारूकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरू जुधाउन दर्ता भएको पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।
तारूका गोरू जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारूकेले गोरू जुधाईसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए। तारूकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरू जुधाइँदै आएको छ। मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गर्दछ।
यस्तै, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरू जुधाइ हुने भएको छ। पछिल्लो ६ वर्षदेखि बेत्रावतीमा माघे संक्रान्तिमा गोरू जुधाइँदै आएको छ। यस वर्ष आठ हल गोरू दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले जानकारी दिए।
प्रतियोगितामा सामेल भएका गोरू शारीरिक रूपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि वीमाको व्यवस्था गरिएको छ।