संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाङका १० स्थानीय तहलाई दुर्गम, सुगम र मध्यम स्तरमा वर्गीकरण गरेको छ।
स्थानीय तहको वर्गीकरणअनुसार बङ्गलाचुली र राजपुर गाउँपालिका दुर्गममा परेका छन् भने घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका सुगममा परेका छन्। त्यस्तै लमही नगरपालिकासहित, दङ्गीशरण, शान्तिनगर, बबई, राप्ती र गढवा गाउँपालिका मध्यमस्तरमा रहेका छन्।
सरकारले अति नै दुर्गमलाई ‘क’, दुर्गमलाई ‘ख’, मध्यमलाई ‘ग’ र सुगमलाई ‘घ’ वर्गमा विभाजन गरेको छ। सरकारले नेपालका ७५३ वटै स्थानीय तहलाई वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो। मुलुक नयाँ संरचनामा गएपछि बनेका स्थानीय तहहरुको पहिलो पटक वर्गीकरण गरिएको हो।
भौगोलिक अवस्था र सामाजिक आर्थिक विकासलगायतका आधारमा सरकारले स्थानीय तहलाई चार तहमा वर्गीकरण गरेको हो। यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार, विद्युत्को पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति समेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको हो।
मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो। वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्ति विकासमा समेत वस्तुगत बनाउन सजिलो हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए।
उनका अनुसार देशभरका अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन्। रासस