गाेरखाकाे धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले जिम्मा लिएकोे नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो। लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असोजदेखि नमूनाबस्ती निर्माण थालिएको हो। अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएकोे एनआरएनका परियोजना प्रबन्धक लक्ष्मण अर्यालले जानकारी दिए।
लाभग्राहीले प्रतिपरिवार ५३ क्यूफिट काठ उपलब्ध गराउनुपर्ने भए पनि उनीहरुले उपलब्ध गराउन नसक्दा निर्माणमा ढिलाइ भएको हो। 'गुप्सीपाखामा काम गर्न सजिलो छैन,' अर्यालले भने। निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले स्थानीयवासी र एनआरएनका पदाधिकारीसँग छलफल थालेको छ। स्थानीयवासीले ढुङ्गा र गिटी उपलब्ध गराए पनि काठ उपलब्ध गराउन नसक्ने बताएका छन्।
कतिपय घरमा महिला तथा बालबालिका मात्र छन्। उनीहरुले काठ बोकेर ल्याउन सक्ने अवस्था छैन। स्थानीयवासीले प्रत्येक घरमा शौचालयसमेत निर्माण गरी दिन एनआरएनसँग आग्रह गरेका छन्। एनआरएनले आउँदो वैशाखसम्म घर निर्माण गरिसक्ने लक्ष्य लिएको इञ्जिनीयर अर्यालले बताए। हालसम्म करीब ५०० घरको पहिलो तल्लाको काम सकिएकोे छ भने १२५ घरको दोस्रो तल्ला र ३७० घरको ट्रस्ट राख्ने काम भइरहेको अर्यालले जानकारी दिए। रासस