ट्राफिक प्रहरी कार्यालय धनुषाले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा रु.७७ लाख ६० हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
पौष मसान्तसम्म कार्वाहीमा परेको १२ हजार ४ सय १८ सवारीबाट उक्त राजश्व संकलन गरिएको शुक्रवार पत्रकार सम्मेलनको अयोजना गरी धनुषाका ट्राफिक प्रमुख प्रहरी निरिक्षक दिपक साहले जानकारी दिए । दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । गत आर्थिक वर्ष २०७४/७५ को वर्षभरिमा रु.१ करोड ३८ लाख ८० हजार दुइ सय संकलन भएको थियो ।
६ महिनाको अवधिमा कारर्बाहीमा पर्ने सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । ५ हजार ६ सय ७५ मोटरसाइकल कारबाहीबाट रु. ३३ लाख १६ हजार राजश्व संकल भएको छ । २ हजार ७ सय ५९ ट्रक टेङकर कारबाहीबाट रु. २० लाख ५४ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यस्तै ७ सय ९७ जीपकारलाई कार्वाही गरी रु.११ लाख ६० हजार संकलन गरिएको छ भने १ हजार १ सय २० वटा बसलाई कार्वाही गरी रु.६ लाख ७९ हजार संकलन गरिएको छ । ७ सय ९७ वटा ट्याङकर कारबाहीबाट रु. ४ लाख ५७ हजार राजश्व संकलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयको तथ्याङ्क अनुसार पौष मसान्तसम्म ६५ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २९ जनाको मृत्यु भएको छ भने ५० जना सख्त घाइते भएका छन् ।
यस्तै चालु अर्थिक वर्षमा ६ वटा गाडी पक्राउ गरी भन्सार कार्यालय पठाइएको प्रहरी निरिक्षक साहले जनाए । पक्राउ परेका सवारी साधनमा ग्रेडर, स्कारपीयो, भारतीय कार तीनवटा, भारतीय ट्रक एउटा, भारतीय स्कारपीयो जीप एउटा र भारतीय मारुती कार एउटा रहेको उनले बताए । यस्तै अनुसन्धानको सिलसिलामा दुइटा भारतीय बुलेरो, स्कारपियो र एउटा भारतीय नम्बरको सफारी गाडी रहेको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म पक्राउ परेका एउटा बुलेरो सहित १४ वटा मोटरसाइकल पत्रकार सम्मेलनमा सार्वजनकि गरिएको छ । ती सवारी साधनलाई मागसहितको हक दावी गर्न एक साताको समय दिएको प्रहरी निरिक्षक साहले उल्लेख गरे ।