सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो । यस्तै मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । बसमा करेन्ट लागेर घाइते भएका २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् ।
बाँकी रहेका दुईमध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत उपलब्ध गराउने छ ।
कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कँदै गरेको बसमा यही माघ ११ गते साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो ।