लागूऔषध कारोबार र दुब्र्यसनमा संलग्न भएको आरोपमा मकवानपुरले पछिल्लो ६ महिनामा ११६ जनालाई पक्राउ गरी कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्बजनिक गरेको प्रतिवेदन अनुसार गत असारदेखि पुस महिनासम्ममा लागूऔषध, गाँजा तथा मेडिकलसँग सम्बन्धित विभिन्न लागूऔषधको कारोबार तथा सेवनमा संलग्न छन्। ११६ जनामध्ये १४ जना भारतीय नागरिक रहेको जिप्रका मकवानपुरले जनाएको छ। हरेक महिना २० जनाका दरले मानिसहरु लागूऔषध कारोबार र दुव्र्यसनसँग सम्बन्धित बिषयमा पक्राउ पर्ने गरेका हुन्।
पक्राउ परेकाहरुको साथबाट गाँजा, नाइट्रोभेट, कोरेक्स, ब्यूरोनोफिन, नोर्फिन लगायतका लागूऔषध प्रहरीले फेला पारेको हो। पक्राउ परेकामध्ये ४५ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको र ७१ जना धरौटीमा छुटेको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
पछिल्लो ६ महिनामा प्रहरीले ८ क्विन्टल ९० किलोग्राम २२ ग्राम गाँजा तथा ३२ किलोग्राम १ सय ४० ग्राम चरेस बरामद गरेको छ। प्रहरीका अनुसार २ हजार ११९ थान नाइट्रोभेट ट्याब्लेट, कोरेक्स १७९ बोत्तल, ब्यूप्रोनोफिन १६६० एम्पुल, नोर्फिन ६ एम्पुल, स्पास्मो ४५ ट्याब्लेट, डाइजेपाम १७७८, फेनारगन १६९९ र खैरो हेरोइन ४ ग्राम ३३५ मिलिग्राम बरामद गरिएको छ।
उल्लेखित लागूऔषध ओसारपसारका क्रममा प्रहरीले १३ वटा सबारी साधन नियन्त्रणमा लिएको छ। कारबाही प्रक्रिया अघि बढाइएका सबारी साधनहरुमा मोटरसाइकल, बोलेरो गाडी, कार, ट्याङ्कर, स्कूटर लगायत छन्।
यसैबीच, चालू आर्थिक बर्षमा जिप्रका मकवानपुरले ३ बिगाह २ कट्ठा १० धुर क्षेत्रमा लगाइएको गाँजा फँडानी गरेको छ। हेटौँडा उपमहानगरपालिका १९, राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका तथा कैलाश गाउँपालिकामा पुगेर गाँजा खेती फँडानी गरिएको हो। त्यसैगरी, ३३ बिगाह ७ कट्ठा क्षेत्रमा लगाइएको अफिम खेती पनि नष्ट गरिएको प्रहरीले जनाएको छ।