विश्व सिमसार दिवसका अवसर पारेर शनिबार फेवाताल र किनारामासरसफाई गरिएको छ । पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको आयोजनामाभएको कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल समेतको सहभागितामा सरसफाइ गरिएको हो ।
डुंगामा चढेर फेवातालको फोहोर उठाउँदै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सिमसार क्षेत्र जोगाउन स्थानीयवासी निरन्तर लागिरहनुपर्ने बताए । दैनिक प्रयोगमा आएर जथाभावी फ्याँकिएका प्लास्टिकजन्य वस्तुले सिमसार क्षेत्र पुरिन थालेको तथा दुर्गन्धित हुन थालेकोले यसको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । जलवायु परिर्वतन विश्वव्यापी चुनौती रहेका बेला यसबाट उत्पन्न जोखिम कम गर्न र परिवर्तित अवस्थामा अनुकुलनका लागि सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापनमा सक्रियतापूर्वक लाग्नुपर्ने उनको भनाइ थियो । सिमसार क्षेत्र जैविक विविधताको हिसावले धनी र पर्यापर्यटनको सम्भावना बोकेको क्षेत्र भएको उनले बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सिमसार जोगाउन गण्डकी सरकारले नेपालमै पहिलो पटक ताल प्राधिकरण गठन गर्न लागेको बताए । गण्डकी प्रदेशका सिमसार क्षेत्रको पहिचानका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी गराए । गण्डकी प्रदेशको भविष्य तालमा रहेकोले यसको संरक्षण र व्यवस्थापन गर्न सबैको जिम्मेवारी उत्तिकै रहने उनको भनाइ थियो ।
गठन हुने प्राधिकरण मार्फत प्रदेश सरकारले ढल ‘फिल्टर’, बाढी पहिरो जाने सम्भावित ठाउँको संरक्षणलगायत काम गर्ने बताउदै मन्त्री लम्सालले फेवाताल सधै सफा र स्वच्छ रहने दाबी गरे । जैविक विविधता संरक्षणका दृष्टिले मात्र नभएर जलवायु परिर्वतनका जोखिम न्युनीकरण गर्न सिमसार क्षेत्र अत्यन्तै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा अन्तक्र्रिया समेत भएको छ ।