कलेजीको टुक्रा जस्ती मायालु छोरीलाई ४ महिनामा बिसञ्चो हुँदा रेश्मा र प्रदीप रञ्तिजाको शोकसुर्ताले मुटु दुख्यो । बेनीमा जँचाए निको भएन । पोखरा लगे, त्यहाँ पनि उपाय चलेन । काठमाडौं पुर्याए, निको हुनु त पर रोग पनि पत्ता लागेन । दिल्ली नै गएपछि थाहा लाग्यो—४ महिने छोरीको कलेजोमा समस्या रहेछ ।
तामाको मुनाजस्ती छोरीलाई उपचार गरेर निको पार्न अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका रेश्माप्रदीप दम्पती निकै दौडधूप गरे । धूपधुँवार गरे । देवीदेउता पुकारे । अहँ छोरीलाई २० को १९ भएन ।
डाक्टरकहाँ लगे । निकै भएन । अर्कातिर पैसाले भ्याएन । डाक्टरले भने, ‘छोरीको कलेजो फेर्नुपर्छ, कसैले दान गर्नुपर्यो ।’ मिल्ने भए आफ्नो मुटु पनि पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजै म्याच भएन । झन् पनि कस्को मिल्ला भन्ने हुँदाहुँदै म्याग्दी समाजमा खबर फैलियोः बालिकासियाना रञ्तिजाको कलेजो फेर्न आर्थिक अभाव, कलेजो दाता पनि चाहियो ।
आखिर चन्द्र केसी सियानाका लागि बाबुआमाजस्तै प्यारो बनेर झुल्किए । ती बचरीलाई कलेजोको टुक्रा काटेर दिन केसी राजी भए । म्याग्दीमा असहाय र विपन्नलाई सहयोग पुर्याउँदै आएको संस्था ओमकुमारी शान्ति कोषकासंस्थापक अध्यक्ष केसी स्वयं जो हुन् । पहिलापहिला खल्तीको पैसा सहयोग गर्थे । अरुसँग सहयोग जुटाएर गाउँ पुर्याउँथे । कहिले मिर्गाैला रोगीको उपचार हुन्थ्यो, कहिले मुटु रोगीको । कहिले कलिला हातहरुमा कापी कलम थमाउँथे, कहिले थरथर कापिरहेको जिउमा न्यायो लुगा । यसपालिचाहिँ केसीले आफ्नै कलेजोको टुक्रा ती बालिकालाई दिएका छन् ।
ओमकुमार शान्ति कोषकै पहलमा सायनाको रोग पत्ता लगाउने र उपचार गर्ने प्रक्रिया चलिरहेकै थियो । कलेजो प्रत्यारोपण गर्नुपर्ने भएपछि दिल्लीमा उपचार तय भयो । कानुनी प्रक्रियाचाहिँ पुर्याउनै पर्यो नेपाल र भारत दुवैतिर । त्यो प्रक्रिया पूरा गरिवरिशुक्रबार केसीको कलेजोको टुक्रा बालिका सियानामा प्रत्यारोपण गरिएको छ ।
भारतको सर गंगाराम अस्पतालमा रञ्तिजालाई केसीले दान गरेकोे कलेजो प्रत्यारोपण गरिएकोओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन् । ‘आज केसीले मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राख्नु भएको छ,’ शाक्यले भने, कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय थियो, आज झन् महान् पुण्य गर्नुभयो ।’ केसीको करिब ३० प्रतिशत कलेजो निकालेर पत्यारोपण गरिएको शाक्यले बताए । शाक्यले बिरामी सायना र दानवीर केसी दुवै अस्पताल भर्ना छन् ।
‘प्रत्यारोपण गरिएपछि बिरामी र कलेजोदान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ,’ शाक्यले भने । सायनाको जीवन रक्षाका लागि प्रवासमा रहेका म्याग्देलीको पहलमा ३० लाख रुपैयाँ संकलन भएको थियो । कलेजो प्रत्यारोपणअघि उपचारमा १२ लाख रुपैयाँ खर्च भइसकेको थियो । अहिले प्रत्यारोपणका लागिमात्रै १७ लाख भारुभन्दा बढी आवश्यक भएकाले थप सहयोगका लागि कोषले आह्वान गरेको छ ।