जापान सरकारको सहयोगमा निर्माण हुन लागेको धनुषाको नगराईन नगरपालिका–६ लग्मास्थित बासुदेव राष्ट्रिय प्राविको भवन शिलान्यास गरिएको छ। आइतबार आयोजित एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लापग जापानी दुतावासका द्धितीय सचिव मासाओ कुनीसदाले संयुक्त रुपमा चारकोठे भवनको शिलान्यास गरेका हुन्।
जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि रु. ९० लाख ५० हजार उपलब्ध गराएको छ। भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत कांग्रेस उपसभापति निधिले नेपालको शिक्षा, सडक, स्वास्थ्य, कृषि लगायतका विकास निर्माणका काममा जापान सरकारले गरेको सहयोगको प्रशंसा गरे।
दीर्घकालीन रुपमा प्रभाब पार्ने यस्ता कामले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने उनले बिश्वास व्यक्त गरे। निधिले शैक्षिक विकासका लागि भौतिक संरचनाको पनि उत्तिकै आवश्यक रहेको भन्दै भवन निर्माण कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न आग्रह गरे। ‘जसरी सम्झौता भएको केही दिनमै भवन शिलान्यास भएको छ, त्यसरी नै छिटोभन्दा छिटो भवन निर्माण हुनुपर्छ,’ कांग्रेस उपसभापति निधिले भने ‘तर छिटो बनाउने नाममा गुणस्तरमा सम्झौता गरिनु हुदैन।’
भवन निर्माणको काममा शिक्षक, अभिभावक लगायत सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरे। देश विकासमा शिक्षाको अहं भूमिका हुने भएकोले यो क्षेत्रमा सहयोग गर्ने दाताहरुलाई आफूहरुले सबैभन्दा ठूलो मित्र ठानेको निधिको भनाई थियो। उपसभापति निधिले भवन निर्माणमा सहयोग गरेकोमा जापान सरकारलाई कांग्रेसको तर्फबाट धन्यवाद ज्ञापन गरे।
उनले विश्वमै पहिलो मिथिला चित्रकलाको म्युजिम जापानमा रहेको स्मरण गरे। निधिले महिला सशक्तिकरण तथा आय आर्जनका लागि मिथिला चित्रकला ठूलो क्षेत्र हुन सक्ने भन्दै यस क्षेत्रमा पनि जापान सरकारलाई सहयोगका लागि आग्रह गरे। ४२५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा एउटै कक्षामा १२० जनासम्म विद्यार्थी बसेर पढ्नुपर्ने बाध्यता छ। भवन निर्माणपछि विद्यार्थी तथा शिक्षहरुलाई पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रअ रामप्रकाश मण्डलले विश्वास व्यक्त गरे।
विद्यालय भवनका निर्माणका लागि नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीबीच १२ पुसमा काठमाडौंस्थित जापानी दूताबासमा हस्ताक्षर भएको थियो।