पन्ध्रौं योजना सम्बन्धी गण्डकी प्रदेशस्तरीय परामर्श गोष्ठी शुक्रबार पोखरामा सुरु भएको छ । राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राडा पुष्पराज कडेलको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको अवस्था र चुनौतीका बारेमा भनाइ राखेका थिए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव लगायतका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ५० जनाको सहभागिता थियो। शनिबार सरकारी कार्यालयका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, गैरसरकारी संस्था, सामुदायिक संस्था, आर्थिक पत्रकार समाजका प्रतिनिधिको सहभागिता रहने छ ।
२ दिने कार्यक्रमको पहिलो दिन राष्ट्रिय योजना आयोगका सदस्य डा. दीलबहादुर गुरुङले स्वागत गरेका थिए भने आयोगका सहसचिव बिजुकुमार श्रेष्ठले पन्ध्रौं योजनाको मस्यौदा प्रस्तुति गरेका थिए । गण्डकी प्रदेशका प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी पौडेलले प्रदेश योजना सम्बन्धी अवधारणा पत्र प्रस्तुति गरे ।
नेपालमा प्रथम आवधिक योजना वि.सं. २०१३ बाट सुरु भएको थियो । ६२ वर्षको कालखण्डमा चौधौं योजना तर्जुमा भई समाप्तिको संघारमा छ । आवधिक योजनाले सहभागितामूलक विकासलाई प्रमुख आधारको रुपमा आत्मसात गरेको छ । क्षेत्रीय परामर्श गोष्ठीको अवधारणा अवलम्बन गर्दै पन्ध्रौँ योजनाको आधारपत्रको मस्यौदाउपर प्रदेश स्तरीय छलफल कार्यक्रम पोखरामा सम्पन्न हुँदैछ ।