लमजुङमा झण्डै एक दशकपछि हिउँ परेको छ । सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित घलेगाउँमा हिउँ परेपछि त्यहाँ हिउँ खेल्न आन्तरिक पर्यटकको ओईरो लागेको छ ।
लमजुङका स्थानीयलाई हिउँ खेल्न कि त मनाङ पुग्नुपर्छ कि दामन । तर, यसबर्ष सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित पर्यटकीय गाउँ घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्न पर्यटकको ओईरो लागेको छ । बर्षौ पछि हिउँ परेकाले प्रत्यक्ष रुपमा हिउँ खेल्न पाउँदा ज्यादै हर्षित लागेको आन्तरिक पर्यटक सरीता न्यौपानेले बताईन् ।बाह्य तथा आन्तरिक पर्यटकको रोजाईमा घलेगाउँ पर्छ । धरै लामो समयपछि घलेगाउँमा हिउँ खेल्न पाउँदा निकै रमाईलो भएको बेसीशहर नपा–७ का लाल प्रसाद गुरुङले बताए ।
बर्षौ पछि एक्कासि हिमपात भएपछि घलेगाउँको जनजीवन पुरै प्रभावित भएको छ । एक फिट बराबरको हिउँ परेपछि घलेगाउँको पुरै भुभाग सेताम्मे भएका छन् । हिमपातसँगै चिसो अत्याधिक बढेको छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । तर, हिउँले गर्दा बालिनाली सप्रिने र पर्यटक समेत बढेकाले स्थानीय निकै खुसी भएको क्होलासोंथर गापा–३ घलेगाउँका स्थानीय गंगा घलेले बताए ।
चिसोको प्रवाह नगरी घलेगाउँमा हिउँ खेल्न लमजुङ सहित बाहिरी जिल्लाका आन्तरिक पर्यटकहरुपनि पुगेका छन् । लामो समयपछि यति ठूलो मात्रामा हिउँ परेपछि आन्तरिक पर्यटकहरु पनि लोभ्यिाएका हुन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिँचाई पुग्नुका साथै जडिबुटी समेत उम्रने स्थानीयको भनाई छ । लमजुङमा घलेगाउँ सहित, पर्यटकीय गाउँ घनपोखरा र सिउँरुङ लगाएतका स्थानमा समेत हिउँ परेको छ ।