तराईका ग्रामिण भेगमा खाना पकाउनका लागि अहिलेपनि परम्परागत रुपमा प्रयोग हुँदै आएको चुलोको प्रयोग हुँदै आएको छ। खासगरी ग्रामीण क्षेत्रका गरिब विपन्न तथा दलित परिवार अझै पनि परम्परागत चुलो प्रयोग गर्दै आएका छन्। तर, चुलोमा प्रयोग हुने दाउरा भन्दा गुइठाको प्रयोग बढेको छ।
नजिकको वन जंगल मासिँदै जाँदा दाउरा पाउन कठिनाइ भएपछि ग्रामिण भेगमा गाईभैंसीको गोबरलाई खेतमा प्रयोग गर्नुको साटो गुइठाको रुपमा भान्सामा प्रयोग गर्न थालेका हुन्।
गुइठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने भएकाले उनीहरुले गोबरमा भुस, पराल, मकैको ठठेरो लगायतका वस्तुहरु राखेर गोबरलाई सुकाएर गुइठाको दाउरा तयार गरेर भान्सामा प्रयोग गर्नेको संख्यामा वृृद्धि भएको हो। सुख्खायाममा गुइठा बनाएर राख्ने र वर्षायामा हप्तौ पानी परेको समयमा घरमा राखेको गुइठा प्रयोग गर्नेको संख्या बढेको हो।
गाईवस्तुको गोबरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गरी खेती किसानी गर्दै आएका किसान परिवारहरु समेत दाउराको अभावमा गोबरलाई जलावन (दाउरा)को रुपमा प्रयोग गर्न थालेको धनौजी गाउँपालिका अन्तर्गत भररीयाका स्थानीय महिला जिवछी देवी यादव बताउँछिन्। ‘पहिले–पहिले गोबर खेतमा मिलाउँदा राम्रो मलको रुपमा काम गथ्र्यो तर, अब विस्तारै वन जंगल मासिँदै गयो। दाउरा पाउन पनि अभाव भयो,’ यादवले भनिन्, ‘खाना पकाउने दाउराको किन्न ग्राह्रो हुन्छ, एलपी ग्याँसमा खाना पकाउने क्षमता गाउंँघरमा झनै हुँदैन। त्यसैले सहज उपलब्धताको मध्यनजर गर्दै गोबरलाई खेतमा हाल्नुभन्दा गुइठाको प्रयोगमा जोड दिएका छौँ।’
खेतहरुमा पनि अहिले कम्पोष्ट मलको साटो बढी जसो रसायनीक मल तथा पैदावार बढाउने औषधीहरुको प्रयोग बढेकाले गोबर खाना पकाउनकै लागि उपयोग गर्ने गरिएको सोही गाउँका अर्का किसान रामप्रताप साहले बताए। उनले भने, ‘पहिला पर्याप्त दाउरा हुँदा गुइठाको खासै उपयोग थिएन। त्यतिबेला भएभरको गोबर खेतमै हालिन्थ्यो तर, अहिले वन जंगल मासिएका छन्। दाउराको अभाव भएको छ, यस्तो अवस्थामा गुइठा मात्र ग्रामिण भेगका बासिन्दाका लागि सस्तो खाना पकाउने माध्यम बनेको छ।’
दाउराको रुपमा गोबरको अत्याधिक प्रयोग हुन थालेपनि उत्पादनमा ह्रास हुँदै गएको जिल्ला कृषि विज्ञ प्रदिप ठाकुरले जानकारी दिए। रसायनिक र कमपोष्ट मलले गर्दा तत्काल उपज बढ्ने भएपनि माटोको उर्बरा शक्तिमा ह्रास हुँदै गएको हुनाले उपज घट्दै गएको ठाकुरको कथन छ।
ठाकुरका अनुसार खेतबारीमा एक वर्ष हालेको गोबर तीन वर्षसम्म मलको रुपमा काम गरिराख्ने हुनाले खेतीका लागि गोबर उपयुक्त भएपनि किसानले गोबर किनेर हाल्न महँगो हुने भएका कारण गोबरको साटो रसायनिक पदार्थको प्रयोगमा जोड दिने गरेको बताए। धनुषामा झण्डै ६५ प्रतिशतले किसानहरु जलावनको रुपमा गोबरको गुइठा बनाएर दाउराको रुपमा प्रयोग गर्नेको तथ्यांक रहेको छ।