सरस्वती पूजामा डिजे बजाएर नाच्न नदिएपछि धनुषाको मिथिलाविहारी नगरपालिकामा स्थानीय युवा, विद्यार्थी र प्रहरीबीच विवाद भएको छ।
मिथिलाविहारी नगरपालिका–७ स्थित तारापट्टी बजारमा नगरपालिकाबाट नाचगान गर्ने अनुमति लिएको भए पनि गएराति प्रहरीले नाच्न नदिएको र आज विहानै नाच्न दिन प्रहरीलाई अनुरोध गर्दा उल्टै विद्यार्थीमाथि कुटपिट गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन्।
विद्यार्थीलाई कुटपिट गरेको विरोधमा विहानैदेखि विद्यार्थीहरु तारापट्टी बजारमा चक्का जाम गरी टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरुले कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
‘नगरपालिकाबाट नाचगान गर्ने अनुमती लिएका थियौँ तर प्रहरीले जर्बजस्ती हामीलाई रोके, आज विहानै नाच्न दिनुस भन्दै आग्रह गर्दा प्रहरीले कुटपिट गरे,’ स्थानीय उमेश साहले भने।
यता प्रहरीले भने राति १२ बजेपछि डिजे बजाउन नदिएको निहुमा उनीहरुले विवाद गरेको जनाएको छ। विद्यार्थीलाई कुटपिट गरेको कुरामा समेत कुनै सत्यता नरहेको इलाका प्रहरी कार्यालय तारापट्टीका इन्चार्ज प्रहरी नायव निरिक्षक रामबाबु यादवले दावी गरे।