दोस्रो शताब्दिदेखि लिएर मध्ययुगसम्म मानिस र बाँदरको शरीर एकै खालको हो भन्ने विश्वास थियो । यो सिद्धान्तका पिता थिए युनानी चिकित्साका प्रख्यात क्लायिस ग्यालेनस । त्यतिखेर उनलाई पश्चिमी मुलुकमा सबैभन्दा ठूला डाक्टर मानिन्थ्यो । तर धार्मिक, कानुनी र सांस्कृतिक मान्यताका कारण उनले कहिल्यै पनि मानिसको अपरेशन गरेनन् । तर बाँदरको शरीर अपरेशन गरेर उनले १४०० वर्षसम्म मेडिकल साइन्सलाई बाटो देखाए ।
तर चिरफार गर्न थालिएपछि मेडिकल साइन्सको दुनियामा अचानक नयाँ मोड आयो । यस्तो परिवर्तन १६ औं शताब्दिबाट सुरु भएको थियो र नेतृत्व गरेको थियो इटलीको शहर पादोभा र यसको विश्वविद्यालय । यो शहरको सांस्कृतिक, धार्मिक र साहित्यिक विरासतको ठूलो इतिहास छ । यो शेक्सपियरको नाटक ‘द टेमिङ अफ द श्रु’ को केन्द्र थियो । पादोभामा लामो समयदेखि मेडिकल पढाई हुँदै आएको थियो । यही परम्पराअनुसार सन् १२२२ मा विश्वविद्यालय स्थापना भयो । यो वैज्ञानिक अध्ययनको प्रख्यात केन्द्र बन्यो । भेनिस गणराज्यले सन् १४०५ मा पादोभा शहर कब्जा गर्दा पनि विश्वविद्यालयलाई स्वायत्तता दिए । यहाँ युरोपलगायतबाट मानिसहरु पढ्न आउन थाले ।
पहिलोपटक मानव शरीरमा रक्त सन्चार हुन्छ भनेर लेख्ने विलियम हार्भेले यही विश्वविद्यालयमा पढेका थिए । यही विश्वविद्यालयका प्राध्यापक सेन्टेरियोले थर्मामिटर आविष्कार गरेका थिए । १८ औ शताब्दिमा यही विश्वविद्यालयका प्राध्यापक रहेका गियोबान्नी बटिस्टा मोर्गाग्नीले आधुनिक प्याथोलोजी विकास गरे । इटलीको पहिलो मुटु प्रत्यारोपण पादोभामा नै सन् १९८५ मा भयो ।
यही विश्वविद्यालयमा एन्ड्रियास भिसेलियसले पहिलोपटक ५ सयभन्दा बढी मानिसको अपरेशन गरे । बेल्जियमको ब्रसेल्समा जन्मिएका उनी १५३७ मा पादोभा पुगेका थिए । त्यहाँ उनले मेडिकलमा डक्टरेटको पढाई पुरा गरे । त्यसपछि उनी विश्वविद्यालयकै एनाटोमी र सर्जरी विभागको अध्यक्ष बने । आफ्नो कार्यकालको दौरान उनले १५४३ मा मानिसको शरीरको बनावटसम्बन्धी पुस्तक लेखे । यसलाई ७ वटा पुस्तकमा बाँडिएको थियो । यो किताबमा शरीरको अंगको स्केच पनि बनाइएको थियो ।
युनानी डाक्टर हेरोफिलस र एरासिसट्राटसले पहिलोपटक तेस्रो शताब्दिमा इजिप्टको अल सिकन्दरया विश्वविद्यालयमा मानिसको शरीरको अपरेशन गरेका थिए । पछि युनानी र रोमन साम्राज्यमा मानिसको शरीर चिर्नु नराम्रो मानिन थालेपछि अपरेशन बन्द भयो ।
१४ औं शताब्दिमा फेरि एकपटक मेडिकल साइन्सका विद्यार्थीका लागि मानिसको शरीर चिरफार अनिवार्य गरियो । मानिसहरुले नयाँ ज्ञानलाइ स्वीकार गर्न थाले । १५९४ मा पादोभा विश्वविद्यालयको क्याम्पसमै मानिसको शरीर चिरफारका लागि एक ल्याब बनाइयो । त्यतिखेरको भवन आज पनि क्याम्पस परिसरमै छ । यहाँ मैनवत्तीको उज्यालोमा मानिसको शरीरको अपरेशन गरिन्थ्यो । यो कार्य हेर्न महिलाहरु पनि आउथे । यो क्रममा नजिकै अर्केष्ट्राको गानाबजाना हुन्थ्यो । अपरेशन गरिँदै गरिएको मानिसलाई बेहोस हुन नदिन यसो गरिएको थियो।
मानिसको शरीरको अपरेशन जाडोयाममा गरिन्थ्यो र कयौं दिनसम्म पनि जारी रहन्थ्यो । बिरामीको घाउ चाँडै निको बनाउन आलु, सुर्यमुखी, तिल तथा चमेलीजस्ता जडिबुटीको प्रयोग गरिन्थ्यो । पादोभा शहरमा म्युजियम अफ हिस्ट्री अफ मेडिसिन पनि छ । बीबीसीबाट