कैलालीको जिल्ला अदालत परिसरबाट हत्कडीसँगै फरार भएका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ।
मंगलबार अदालत परिसरबाट फरार भएका लम्कीका २३ वर्षीय दिल्प दमाईलाई गोली प्रहार गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए। दमाईलाई कैलालीको बेलीबाट पक्राउ गरिएको उनले बताए।
जबरजस्ती करणी मुद्दाका आरोपी दमाईलाई प्रहरी नायव निरीक्षक जनक सिंहको नेतृत्वमा म्याद थपका लागि जिल्ला अदालत ल्याएका बेला हत्कडीसहित फरार भएका थिए। दमाई फरार भएपछि उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थियो।