अत्याधिक हिमपातका कारण ढुवानी हुन नसक्दा हिमाल पारीको जिल्ला मनाङमा खाद्य संकट शुरु भएको छ। सडकमा बाक्लो हिमपातका कारण सवारी आवातजावत हुन नसक्दा माथिल्लो क्षेत्रमा खाद्यान्न संकटसँगै स्थानीयले सास्ती खेपेका छन्।
मनाङमा बाक्लो हिमपातका कारण झण्डै चार साता अघिदेखि कुनै सवारी साधन पुग्न सकेको छैनन्। सवारी साधन नपुगेपछि कुनैपनि खाद्यान्न आयात गर्न सकिएको छैन। ढुवानी समस्याले गर्दा ताजा तरकारी लगायतका दैनिक उपभोग्य सामाग्री नपाएको मनाङको अस्मिता गुरुङले बताइन्।
चार सातादेखि परेको झरी र हिमपात रोकिएपनि हिउँ नपग्लिँदा मनाङमा यातायात सेवा ठप्प भएको हो। हिमपातको पहिरो र ढलेका रुखले सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्ति हुन सकेको छैन। चार सातायता मनाङमा सवारी आवागमन ठप्प छ। लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको दानाक्युसम्म मुस्किलले सवारी चलेका छन्। सवारी नचल्दा एकातिर स्थानीयले सास्ती खेपेका छन् भने सवारी चालकहरु समेत मर्कामा परेका सवारी चालक विनोद बस्नेतले बताए।
सवारी नचल्दा र हिउँका कारण चक्रिय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई समेत सास्ती भएको छ। हिउँ पन्छाउँदै कष्टकर रुपमा मनाङ भित्रन पर्यटकहरु बाध्य भएका छन्। १३ वर्ष यताकै अत्याधिक हिमपातका कारण मनाङको जनजीवन कष्टकर भएको छ। हाल सेना तथा प्रहरी परिचालन गरी सडकमा रहेको बाक्लो हिउँ फालेर सवारी चलाउने प्रयास अघि बढाइएको स्थानीय प्रशासनले जनाएको छ। सडक खुलाउन स्थानीय यातायात समिति पनि लागिपरेको मर्स्याङ्दी यातायात ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष किशोर कुमार बस्नेतले बताए।
मनाङमा दैनिक जसो लमजुङ सदरमुकाम बेसीशहरबाट खाद्यान्न ढुवानी हुने गरेको थियो। नासोङ गाउँपालिकाको दानाक्युसम्म सवारी पुगेपनि बाक्लो हिउका कारण त्यसभन्दा माथि सवारी जान सकेको छैन। माथिल्लो मनाङको भार्ताङ र दानाक्यु दुबैतर्फबाट एक्साभेटर प्रयोग गरी सडक सुचारु गर्ने प्रयास गरिएपनि अझै केहीदिन लाग्ने स्थानीय प्रशासनले जनाएको छ। सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था नरहेको र गाडी नचल्दा मनाङको ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ।