धनुषामा ११ किलो अवैध लागूऔषध गाँजासहित तीनजना महिला पक्राउ परेका छन्।
जनकपुरमा उप–महानगरपालिका–२३ जिरोमाइलस्थित बसपार्कबाट अवैध लागूऔषध ११ किलो गाँजासहित तीन जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला नुवाकोट ढुकुरे–३ का २६ वर्षीया कल्पना परियार, पर्सा औरहाका ६० वर्षीया फुलमति थरुनी र सोही स्थानकी ४० वर्षीया जितनी चौधरी रहेको प्रहरीले जनाएको छ। मंगलवार साँझ प्रहरी चौकी जिरोमाइल धनुषाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बाटोमा पैदल हिडिरहेको अवस्थामा शंका लागि चेक जाँच गर्दा अवैध लागूऔषध गाँजा फेला परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
यस्तै, सर्लाहीको पर्सा गाउँपालिका–५, सखुवाबाट एक जना अवैध लागुऔषध ४ किलो गाँजासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिवन नगरपालिका–३ बस्ने ३५ वर्षीय बिल्टु राम रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी पर्सा, सर्लाहीबाट खटिएको प्रहरी टोलीले साइकलमा नेपालवाट भारततर्फ लाँदै गरेको अवस्थामा उक्त परिमाणको अवैध लागूऔषध गाँजासहित रामलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।