उदयपुरको त्रियुगा नगरपालिका–१४ मा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
साउने–गाइघाट सडक खण्डमा बुधवार दिउँसो साढे २ बजे तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो।
दुर्घटनामा ट्याक्टरका चालक उदयपुर त्रियुगा नगरपालिका–१५ खाँबुका २७ वर्षीय दुर्गाबहादुर मगर र सोही ट्याक्टरमा सवार रौतामाई गाउँपालिका–५ आँपटारका ४३ वर्षीय दिलबहादुर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
ट्याक्टरमा सवार रहेका अन्य ६ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।