बेसीशहर नपा–१० की लक्ष्मी गुरुङ (नाम परिवर्तन) एक गृहिणी हुन् । १६ बर्षकै उमेरमा पोखराबाट विहे गरी लमजुङ आएकी उनी अहिले ३० बर्षकी भइन् । अहिले उनका १३ बर्षका छोरा छन् भने फेरि अर्को सन्तान जन्माउने सोचमा छिन् ।
चितवन मामाघर बताउने उनले जिवनका धेरै भोगाइका बारेमा बोल्न चाहिन् । मामा–माईज्युसँग चितवन बस्दै आएकी उनी १६ बर्षको पुग्नेबित्तिकै बिहेको कुरा चल्यो । मामामाईज्युले रोजेको केटा राम्रै होला भन्ने लागेको र काठमाडौमा बस्ने भनेकाले सुखसँग राख्छ भन्ने लागेको उनी बताउछिन् ।
‘केटा पनि राम्र्रै रैछ, जागिर छ भन्थ्यो । बिहे पनि भयो । केही समय काठमाडौ बसेर हामी लमजुङको घरमा फर्कियौं,’ उनले भनिन्, ‘घरमा आउँदा मैले कहिले नदेखेको अनुहार, नदेखेको ठाउँ अनि कहिले नगरेको काम गर्नुपर्ने भयो ।’ उनले बस्दै जाँदा खेतिकिसानी सबै सिकेको र घरको सबै काम सम्हालेकी बताउछिन् ।
‘भाग्यमा जे लेखेको छ त्यही हुन्छ भन्ने लाग्छ, जस्तो समस्याको पनि सामना गर्नुपर्ने रहेछ, अहिले उमेर पनि ढल्कदैंछ, चर्को घाममा धेरै काम गर्न पनि गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘कहिलेकाही एकान्तमा बसेर सोच्छु, कतै मैले पढेको भए यस्तो अबस्थामा आउने थिएन कि ?’
चाँडै बिहे भएपछि पढ्न पाउने महिला मुस्कीलले भेट्न पाइन्छ अझै पनि । त्यसैमाथि बच्चा भएपछि तिनैको स्याहारसुसारमा लागेपछि जिन्दगी त्यत्तिकै बित्छ । गुरुङलाई अहिले श्रीमानले पनि नपढेको भनी गाली गर्छन । विदेशबाट फर्किएका श्रीमानले नराम्री, लाटी, अनपढभन्दा उनलाई साह्रै दुःख लाग्छ । अनि सोच्छिन् कतै मैले पढेर एउटा राम्रो जागिर गर्न पाएको भए यो बचन सुन्नु पर्ने थिएन । ‘सोचेर मात्र बिहे गनुपर्ने रहेछ, पहिले आफूू पढेर सक्षम हुनुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ अनि मात्र विहे गर्नुपर्छ, हतारमा गर्नुहुँदैन,’ उनले जीवनका भोगाइ बताइन् ।
मस्र्याङदी गाउँपालिका ६ की विनिता खनाल (नाम परिवर्तन) को पनि व्यथा पनि उस्तै छ ।ं १७ बर्षको उमेरमा ९ कक्षामा पढ्दै गर्दा फोनबाट कुराकानी भएकै भरमा प्रेम विवाह भयो । विहे भएको २ बर्षमा उनी आमा बनिन् । बिहे पछि पढाइलाई निरन्तरता दिन सकिनन् । अहिले बच्चाको स्याहारसुसारमा व्यस्त छिन् । उनलाई पनि लाग्छ, केही समयसम्म पढ्न सकेको भए, राम्रो जागिर पाइन्थ्यो होला भविष्य राम्रो हुने थियो होला भनेर । ‘बिहे भइहाल्यो अलि सोचेर गर्नुपर्ने रहेछ बिहे भन्ने कुरा,’ उनी भन्छिन् ।
सानै उमेरमा आमा बन्नेको संख्या बढ्दो
लमजुङमा सानै उमेरमा, करकापमा र नबुझी बिहे गर्ने धेरै छन् । शहरमा भन्दा पनि गाउँमा यस्ता महिलाको संख्या बढ्दो छ । जिल्ला सामुदायिक अस्पताल लमजुङमा आर्थिक वर्ष २०७४/७५ मा १ हजार १ सय ९० जनाले अस्पतालबाट प्रसुती सेवा लिएकोमा २० वर्ष मुनीका ३ सय ६३ जना छन् । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय २ जनाले प्रसुती सेवा लिएकोमा २ सय २५ जना २० वर्ष मुनीका रहेको अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा भने, १ हजार २ सय २५ जनाले प्रसूति सेवा लिएकोमा २ सय ५६ जना २० वर्ष मुनीका रहेको अस्पतालको तथ्याङ्कमा छ ।
मातृ शिशु सुरक्षा कार्यक्रम प्रभावकारी भएन
जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा सचेतनामुलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझैं उमेर नपुगी विवाह गर्नेहरुको संख्यामा कमी देखिएको छैन् । यो प्रक्रिया नरोकिँदा आमा सुरक्षा कार्यक्रम सफल पार्नसमेत चुनौती बढेको स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाँईले बताए ।
अस्पतालका स्त्री रोग बिशेषज्ञ डा. सृजना हमालका अनुसार जिल्ला बाहिर गएर बच्चा जन्माउने पनि अत्याधिक छन् । गाउँमा चेतना अभाव छ, छोरीलाई छिटै विवाह गरिदिने र शिक्षाबाट बन्चित गराउने पद्धति नै छ ।’ सानो उमेरको विवाहले पार्ने असर कम गर्न विद्यालय तहकै वालवालिकालाई बढी सचेत गराउनुपर्ने उनको भनाइ छ ।