झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ।
विभिन्न पेशा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए। “केन्द्रीयस्तरबाट यो कार्यक्रम लागू भए पनि स्थानीय तहले आफ्नै कोष खडा गरेर युवालाई स्वरोगार बनाउन तालीम र ऋण दिने कनकाई पहिलो स्थानीय तह हो”, उनले भने, “कार्यविधि बनाएर काम अघि बढाएका छौँ, यो कार्यक्रम निरन्तर अघि बढाइने छ।”
नगरपालिकाले चालू आर्थिक वर्ष २०७५-०७६ बाट शुरु गरेको युवा स्वरोगार कार्यक्रमका लागि ५२ लाख बजेटसमेत छुट्याएको छ। पहिलो चरणमा कोषको रकमबाट २० युवालाई रु २४ लाख वितरणसमेत गरिसकिएको छ। “तरकारी खेती र पशुपालन तालीम दिएर एक लाखदेखि एक लाख ५० हजारसम्म वितरण गरेका छौँ”, नगरप्रमुख पोखरेलले भने, “दोस्रो चरणमा मजदूर वर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।”
नगरपालिकाले दोस्रो चरणअन्तर्गत हेयर कटिङ, प्लम्बिङ, हाउस वायरिङलगायतका क्षेत्रमा काम गर्नेलाई आवश्यक तालीम दिएर रकम प्रदान गर्ने भएको हो। तालीमपछि प्राप्त रकमबाट युवाले पेशा÷व्यवसाय सञ्चालनार्थ आवश्यक उपकरण खरीदमा रकम खर्चिनु पर्नेछ।
दोस्रो चरणका लागि पनि निवेदन माग गरिसकिएको र प्राप्त निवेदनका आधारमा छनोटमा परेका युवालाई रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ। कार्यक्रमअन्तर्गत युवालाई रु २१ लाख प्रदान गरिने भएको छ। बढ्दो विदेश पलायन रोक्न र स्वदेशमै स्वरोगार बन्न युवालाई सहयोग मिलोस् भन्ने उद्देश्यले स्थानीयस्तरमै कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले बताए। नगरपालिकाले तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराएको हो। रासस