प्रदेश ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धि सुझाव संकलन एवं अन्र्तक्रिया कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ । प्रदेश नं ५ को नाम के आधारमा राख्ने र स्थायी राजधानी कहाँ र कस्तो हुने भन्ने विषयमा प्रदेशका नागरिकसँग सुझाव सङ्कलन थालिएको छ ।
प्रदेश राजधानीका लागि प्रशासनिक सुगमता कस्तो हुनुपर्ने, भूमि व्यवस्थापन कसरी गर्ने, राजधानी क्षेत्रको जनघनत्व र वातावरणीय अनुकूलन कस्तो हुनुपर्ने, सामरिक सुरक्षा व्यवस्था कस्तो हुनुपर्ने, भौगोगिलक अनुकूलता कस्तो हुनुपर्ने र राजधानी कहाँ उपयुक्त हुन्छ भन्नेबारे जानकारी लिइएको थियो ।
प्रदेशको नाम ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भौगोलिक मध्ये कुन आधारमा राख्ने भन्नेबारे समेत सुझाव सङ्कलन गरिएको विशेष समितिका संयोजक दिपेन्द्र पुन मगरले जानकारी दिनुभयो । लिखित सुझावमा अधिकांशले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी कपिलबस्तु हुनुपर्ने सुझाव दिएका छन् ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य रिना नेपालले भन्नुहुन्छ, “प्रदेश नं ५ भगवान गौतमबुद्धको जन्मस्थल भएकाले नाम लुम्बिनी र भौगोलिक सुगमताको हिसाबले सबै जिल्लालाई पायक पर्ने स्थान कपिलबस्तु हो, तसर्थ स्थायी राजधानी कपिलबस्तु नै उपयुक्त हुन्छ ।
त्यस्तै प्रदेश सभा सदस्य विष्णु पन्थिले अन्तर्रा्ष्ट्रियस्तरमा लुम्बिनी र तिलौराकोट परिचित रहेको, शान्तिका अग्रदूत गौतमबुद्धले २९ बर्ष विताएको र जन्मभूमिका हिसाबले प्रदेशको नाम लुम्बिनी र राजधानी कपिलबस्तु नै उपयुक्त हुने बताउँछन् । ।
प्रमुख अतिथि एवम् पूर्व सिचाई राज्य मन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभा सभापति सुरेन्द्र राज आचार्यले भने हाललाई राजधानी बुटवल तोकिए पनि सबैलाई पायक पर्ने र आधुनिक राजधानीको रुपमा विकास गर्नका लागि भने कपिलवस्तु उपयुक्त हुने बताए । पूर्वाधार, औद्योगीकरणको वातावरण, पर्यटकीय दृष्टिकोण, पहाड र तराईका जिल्लाको सङ्गमस्थलजस्ता कारणले कपिलबस्तुलाई स्थायी राजधानी तोक्न उपयुक्त हुने तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गया दिन कुर्मीले बताए।
मधेश केन्द्रित दल र आदिवासी जनजाति महासङ्घलगायत प्रतिनिधिले भने पहिचानको आधारमा प्रदेशको नामाङ्कन गरिनुपर्ने सुझाव दिएका थिए । प्रदेशसभा सदस्य एवं विशेष समिति संयोजक दिपेन्द्र पुन मगरका अनुसार फागुन १० गतेदेखि प्रदेशका १२ वटै जिल्लामा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा सुझाव सङ्कलन गर्न थालिएको हो । सबै जिल्लाबाट सुझाव प्राप्त भएपछि प्रदेशसभामा निष्कर्ससहित प्रतिवेदन पेश गरिनेछ ।
प्रदेशसभाद्वारा गठित विशेष समितिले यसै विषयमा कपिलबस्तुमा सुझाव सङ्कलन तथा अन्तक्र्रिया गरेको छ । प्रदेशसभा सदस्य तथा विशेष समितिका सदस्यद्वय बैजनाथ कलवार र तारा जिसीको टोलीले जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, आदिवासी जनजाति समुदाय लगायतसँग लिखित सुझाव लिएको हो ।