मकवानपुरको १० मध्ये ४ वटा स्थानीय तहमा हिमपात भएको छ । बुधवार राति परेको पानीसँगै थाहानगरपालिकामा बाक्लो हिमपात भएको हो ।
त्यसैगरी जिल्लाको विकट राक्सिराङ र कैलाश र इन्द्रसरोबर गाउँपालिकामा पनि लामो समयपछि हिमपात भएको छ । थाहानगरको पालुङ उपत्यका हिउँका कारण सेताम्य र मनमोहक बनेको छ । पर्यटकीय क्षेत्र दामनपालुङमा आन्तरिक र बाह्य पर्यटकहरु हिउँ खेल्नका जाने क्रम बढेको स्थानीयबासीहरु बताउँछन् ।
यद्यपि, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको टोली हेलिकप्टर दुर्घटनामा परेको शोकका कारण बिहिबार भएको बिदामा आन्तरिक पर्यटकहरु दामनपालुङ उल्लेख्य रुपमा पुगेनन् । शुक्रबार र शनिबार दामनपालुङ क्षेत्रमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । १२ बर्षपछि यस क्षेत्रमा बाक्लो हिउँ परेको हो । हिउँ परेसँगै यस क्षेत्रको बेमौसमी तरकारी खेती फस्टाउने गरेको छ भने होटल व्यवसायीहरुको व्यवसाय पनि बढ्ने गरेको छ ।
यता जिल्लाको विकट कैलाश गाउँपालिकाको बोल्नेलेक, बैकुण्ठ तथा कैलाशका भुभागहरुका विभिन्न जंगल क्षेत्रमा हिउँ परेको छ । हिउँ परेपछि जंगल क्षेत्र र तरकारी खेती गरिएका जग्गाहरु सेताम्य र मनमोहक देखिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए । त्यसैगरी राक्सिराङ गाउँपालिकाको वडा नं ६ र ९ को सीमानामा रहेको ऐतिहाँसिक पर्यटकीय क्षेत्र भिम्बुङमा पनि हिउँ परेको छ । इन्द्रसरोबर गाउँपालिकाको फाखेल क्षेत्र पनि हिउँले सेताम्य भएका छन् ।
लगातार मौसममा आएको अदलबदलका कारण हिउँ परेसँगै मनोरन्जन लिन चाहनेहरुका लागि रमाइलो भए पनि हिमपात क्षेत्रका बासिन्दाहरु भने जाडोका कारण समस्यामा परेका छन् । यसैबीच मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाले बिहिबार सुरु गर्ने भनेको राष्ट्रिय औद्योगिक व्यापार मेला उद्घाटन रोकिएको छ ।
रातभरि परेको पानीले स्टलहरुमा समस्या ल्याएको थियो । त्यससँगै बिहिबार सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको निधनको शोकमा विदा दिएकाले पनि महोत्सवलाई असर परेको थियो । मुख्यमन्त्री डोरमणि पौडेलबाट उद्घाटन गर्ने भनिएको महोत्सवमा शोकको दिन मुख्यमन्त्री औपचारिक कार्यक्रममा नपुग्ने लगभग निश्चित भएको थियो । महोत्सवको उद्घाटन शनिबार हुने आयोजक मकवानपुर उद्योग बाणिज्य संघले जनाएको छ ।