प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग जर्मनीका राजदुत रोल्याण्ड स्याफरसहितको एक टोलीले आइतबार मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ।
भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ। त्यस अबसरमा मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको, प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको जानकारी गराए।
उनले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताए। मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी गराए।
उनले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोगको प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताए। उनले जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न आफूहरु तयार रहेको उल्लेख गरे।
भेटमा राजदुत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए। उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकुल कानुनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए।
भेटमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी गराए। भेटमा जर्मन संसदका सदस्य टोविया पीफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसदका प्रमुख मोनिका हेइन लगायत सहभागी थिए। यसैबीच, सोहि टोलीले प्रदेश ५ का सभामुख पुर्णवहादुर घर्तिसंग पनि भेटघाट गरेको छ।