रुपन्देहीको बुटवलस्थित हिलपार्कलाई नमूना पर्यटकीय स्थल बनाइने भएको छ। बुद्ध जन्मस्थल लुम्विनी आएका पर्यटकहरुलाई बुटवलमा ल्याउन हिलपार्कलाई नमूना पर्यटकीय स्थल बनाउन लागिएको हो।
नमूना पर्यटकीय स्थल बनाउन हिलपार्कमा बुद्धको अहिलेसम्मकै ठूलो मूर्तिसहित बुद्ध धर्मसँग सम्वन्धित विभिन्न ऐतिहासिक सोध अध्ययनका लागि अध्ययन केन्द्र समेत बनाइने भएको छ। हिलपार्कलाई नमूना पर्यटकीय स्थल बनाउन बुद्ध मूर्ति अन्य आवश्यक पूर्वाधार विकासका लागि बुटवल उपमहानगरपालिकाले प्रारम्भिक अध्ययन समेत गरिसकेको छ। हिलपार्कको पाँच बिगाहा जग्गामा अहिलेसम्मकै ठूलो ३३ मिटर अग्लो बुद्ध मूर्ति, विशेष पार्क, संग्राहालय, ध्यानकेन्द्र, बाल उद्यानलगायत बनाइने छ।
विज्ञहरुले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनका सम्वन्धमा उपमहानगरपालिकाले सरोकारवालाहरुसँग छलफल तथा अन्तक्र्रिया समेत गरेको छ। त्यसअवसरमा नगरपालिकाका सिभिल इञ्जिनीयर धर्म ढकालले हिलपार्कको ५ विगाहा क्षेत्रफलमा अहिलेसम्मकै अग्लो बुद्धमूर्ति, विशेष पार्क, संग्राहालय, ध्यानकेन्द्र, बाल उद्यान लगायत बनाइने बताए।
उनले कमलको फुुलमाथि ३३ मिटर अग्लो बुद्ध मूर्ति लुम्विनीतिर फर्काएर राख्ने प्रस्ताव गरेको बताए। बुद्ध मूर्तिसम्म पुग्न लक्ष्मिनगरबाट करिव १७ करोड रुपैयाँको लगानी डेढ किलोमिटर डवल लेनको सडक बनाउने तथा हिड्दै जान चाहनेका लागि हिलपार्कको फेदवाट ५ सय ८३ वटा सिँढी बनाउने उनले बताए।
अर्का आर्किटेक्ट इञ्जिनीयर मधु ज्ञवालीले हिलपार्कमा बुद्ध भिक्षु बस्न मिल्ने आश्रम, ध्यानकेन्द्र, अध्ययन केन्द्र बनाउने र प्रत्येक सिँढीमा बुद्ध दर्शन राखी बुद्धमय बनाउन सकिने बताए। उनले बुद्धको मूर्तिलाई लुम्विनीतर्फ फर्काएर राख्ने र त्यहाँबाट लुम्विनी, भैरहवादेखि उत्तर भारतका सीमावर्ती क्षेत्रहरु स्पष्ट देख्न सकिने बताए। इञ्जिनीयर ढकालका अनुसार उपनगरपालिकाले अघि सारेको यो योजना पूरा गर्न करिव पौने अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्विनी आउने पर्यटकलाई बुटवल ल्याउन र बुटवलको पर्यटन विकासका लागि हिलपार्कलाई पहिलो प्राथमिकतामा राखेर पर्यटन विकासको अवधारणा अघि सारेको बताए।