पाचौं खुल्ला रनिङशील्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सव बुटवलमा सुरु भएको छ । काठमाण्डौमा भैइरहने सांस्कृतिक महोत्सव काठमाण्डौ बाहिर बुटवलमा पहिलो पटक बुटवलको बुटवलमण्डपमा महोत्सव आयोजना गरीएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र प्रतिष्ठान रुपन्देहीको सह आयोजनामा सात दिनसम्म चल्ने महोत्सवको प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले आज एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष न्यौपानेले सांस्कृतिक महोत्सवले लोक संस्कृतिको संरक्षण तथा जगर्नेनामा सहयोगी बन्ने बताए।
उनले लोक संस्कृतिको संरक्षणमा राज्यले ध्यान दिन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहाकार खिम बहादुर हमाल, जिल्ला खेलकुंद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक गरौजा, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली भण्डारी, गीता सारुमगर लगायतले धारणा व्यक्त गरेका थिए ।
सांस्कृतिक गतिविधिबाट नेपालको लोक संस्कृतिको संरक्षण तथा जर्गेना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार, उत्कृष्ट गायिका र गायकको लागि १५ हजार राशीको पुरस्कारको व्यवस्था गरिएको छ ।