मिथिलाञ्चलको सबैभन्दा लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा बुधबारदेखि शुरु भएको छ। धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरुवात भएको हो।
हजारौं श्रद्धालुसहित रामजानकीको डोला जनकपुरको रतनसागर मठमा भव्य स्वागतपछि हनुमानगढ पुगेको छ। नेपाल र भारतका विभिन्न स्थानमा हुने धार्मिक पैदल यात्रा १४ दिनसम्म बिभिन्न धार्मिक स्थल र मठमन्दिर हुँदै फागुन पूर्णिमाको दिन पुनः जनकपुर आएर अन्तगृह पञ्चकोशी परिक्रमा गर्दै सम्पन्न हुनेछ।
मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम लिन्छ। परिक्रममा रहेको १५ वटा विश्राम स्थलको आफ्नै विषेशता तथा महत्व रहेको छ। यीमध्ये १० वटा नेपालमा र पाँचवटा भारतमा छन्। परिक्रमा गरेपछि सबैै प्रकारका पाप नष्ट हुने, परिवारजनको कल्याण, सुख शान्ति र समृद्धि हासिल हुने जनविश्वास छ।
श्रद्धा र आस्थाले भारतको नयाँ दिल्लीबाट समेत तिर्थालुको ध्यान खिच्न सफल भएको छ, मिथिला मध्यमा परिक्रमा। बुधवार जनकपुरको हनुमानगढमा विश्राम गर्दै गरेका तिर्थयात्रीको स्वागत सत्कारमा स्थानी तल्लीन थिए। सप्तरीको भारदहबाट आएका अशेश्वर मण्डलले स्थानीको सेवासत्कार र सहयोगकाो प्रशंसा गरे। ‘रामसिताले परिक्रमा गरेको बाटोमा परिक्रमा गर्दा पुण्य प्राप्ति हुन्छ’ नायाँदिल्लीबाट परिक्रमामा सहभागी रामनरेश शर्माले भने, ‘हामी वर्षौदेखि परिक्रमा गर्दै आएका छौँ, भक्तिले मन प्रसन्न हुन्छ, शान्ति मिल्छ।’
परिक्रमामा सहभागी हुन सर्लाही बरहथबाका जोगी राय एकदिन अगाडि नै जानकी मन्दिर लगायत जनकपुरका अन्य धार्मिक स्थल समेत दर्शन गर्न जनकपुर आइपुगेका छन्। ‘माता सिताको जन्मभूमिमा आएपछि यहाँका अरु पनि धार्मिक स्थल दर्शन गर्न एकदिन अगाबै जनकपुर आएका छौँ’ जोगीले भने, ‘हामी भक्तिभावले परिक्रमा गछौँ ताकि मृत्यु भइसकेपछि माथि पुगेर पुण्य मिलोस्।
’विहार सितामढीकी अमिनिया देवी खाद्यन्न र लत्ताकपडाको भारी बोकी पैदल हिडेरै परिक्रमामा सहभागी हुन जनकपुर आइपुगेकी छन्। ‘परिक्रमा पुण्यको काम हो, सितामाताको भक्ति गरेपछि स्वर्गमा पुगिन्छ।’ महोत्तरी सिंयाहीका फेकन यादवले बृद्ध अवस्थामा रहेकी आमाले जिद्दी गरेपछि उनलाई परिक्रमा गराउन जनकपुर आएको बताए।
भारत विहारको कल्यानेश्वरबाट शुरु भइ गिरिजास्थान (फुलहर) हुँदै तेस्रो दिन महोत्तरीको मठियानी पुगेर परिक्रमावासीहरु विश्राम गर्छन्। तत्पश्चात जलेश्वर, मरइ, ध्रुवकुण्ड हुँदै यात्राको सातौँ दिन परिक्रमाबासीहरु महोत्तरीको कञ्चनवनमा धुमाधामका साथ होली खेल्छन् र राति त्यहीँ विश्राम गर्छन्। त्यसपछि क्षिरेश्वरनाथ, सप्तऋषि आश्रम, औरही हुँदै भारत विहारमा प्रवेश गरी करुणामा विश्राम गर्छन्। त्यसपछि विसौलमा विश्राम गरी त्यसको भोलिपल्ट कल्याणेश्वर महादेवको दर्शन गरी परिक्रमावासीहरु जनकपुर आइपुग्छन्। जनकपुर पुगेको भोलिपल्ट अन्त गृहपरिक्रमासंगै परिक्रमा सकिन्छ।
१५ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गर्ने हुनाले यसलाई सबैभन्दा लामो पैदल धार्मिक यात्रा भनिएको हो। मिथिलाको कुम्भ मेला भनेर समेत चिनिने मध्यमा परिक्रमा झण्डै तीनसय वर्ष अघि शुरु भएको मानिन्छ। परिक्रममा सहभागीहरुलाई ठाउँ ठाउँमा विभिन्न सामाजिक, धार्मिक तथा स्थानीय सरकारका तर्फवाट निःशुल्क स्वास्थ्य शिविर, आवास, भोजन तथा अन्य सेवाहरुको व्यवस्था गरिएको छ। तीर्थ यात्रीको भीडलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।