प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्र संवेदनशील क्षेत्र भएकाले व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् ।
प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको आयोजनामा भएको यातायात सेवाको नाम पञ्जिकृत गर्ने सम्बन्धमा आयोजना भएको छलफल कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । सरकार मात्र नभई यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाहरु गम्भीर भएर अघि बढ्नुपर्ने उनले सुझाव दिए ।
मुख्यमन्त्री पौडेलले यातायात व्यवसायीहरुको हीतका लागि प्रदेश सरकारले गर्नुपर्ने सबै व्यवस्था गर्न आफू तत्पर रहेको समेत सुनाए । सरकारले गरेका निर्णयहरुमा सबैले सहयोग गर्नुपर्ने भन्दै उनले कार्यदल बनाएर यातायात क्षेत्रको काम गर्ने बताए । यातायात क्षेत्र भन्ने वित्तिकै व्यापक भ्रष्टाचार हुन्छ भन्ने आम मान्यता रहेको तीतो यथार्थलाई हटाउनु आवश्यक रहेको उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले व्यवसायीबाट आएका सुझाबलाई संवेदनशिल भएर सम्बोधन गर्न हरसम्भव प्रयास गरिने बताए ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले यातायात व्यवसायीहरुलाई कम्पनीमा दर्ता भएर यातायात मजदुर तथा कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन आग्रह गरे । उनले मालबहाक सवारीमा सिण्डिकेट नभएपनि यात्रुबाहक बसहरुमा अझै पनि बढी सिण्डीेकेट कायम रहेको बताएका थिए ।