अधिकाँश सरकारी कर्मचारीहरु शनिबार मनाउँछन् । शनिबारलाई बिदाको दिनको रुपमा उनीहरुले पाएको सुविधालाई सरसफाई, आफन्तसँगको भेटघाट र घुमफिरमा बिताउने गर्छन् ।
तर मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भने शनिबार पनि जनतालाई सेवा दिने काममै बिताउन चाहन्छन् । फागुन २५ गतेको शनिबार पनि उनका लागि त्यस्तै भयो । मनहरी गाउँपालिकाको संयोजनमा आयोजना भएको घुम्ती शिविरमा प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य तथा कर्मचारीको टिम लिएर पुगे मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित दुर्गम बस्तीमा ।
मनहरी गाउँपालिका ६ रुपाचुरीस्थित सगरमाथिा प्राथमिक विद्यालयमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको हो । शनिबारको दिनमा समेत नागरिकतासहितका सेवा सुविधा उपलब्ध गराउन प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रदेश सांसद ओमबहादुर ग्लान, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित सरोकारवालाहरु दिनभर खटिएका थिए ।
राजमार्गबाट हिँडेर ३ घण्टामा पुगिने रुपाचुरी क्षेत्रमा मनहरी गाउँपालिकाको आग्रह तथा वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल विद्युत प्राधिकरण, जिल्ला निर्वाचन कार्यालय लगायतका निकायहरुले सेवा प्रदान गरेको हो । ७० बर्षीया साइलीमायाँ प्रजालाई नागरिकता हस्तान्तरण गरी सेवाको सुरुवात गर्दै प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले रुपाचुरी क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका मन्त्रालय तथा अन्य निकायहरुमा पहल गर्ने बताए । उनले खानेपानी समस्या समाधानसँगै आफ्नो निर्बाचन क्षेत्रभित्रका सबै विद्युतीय पोलहरुलाई बिस्थापित गरी फलामे पोल प्रतिस्थापन गर्ने योजना बनाइएको बताए ।
प्रदेश सभाका सांसद ओमबहादुर घलान (प्रदीप) ले बिकटका जनतालाई सेवा सुविधा दिने गरी स्थानीय तहहरुले कार्यक्रम बनाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दुर्गममा पुगेर नागरिकता दिलाउन पाउँदा खुसी लागेको बताए । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पनि जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराई गाउँमै सिंहदरबारको सेवा दिन खोजिएको उल्लेख गरे ।
शिविरका क्रममा ९३ जनाले नागरिकता पाएका थिए । उनीहरुको मतदाता नामावली सूचि समेत निर्माण गरी तस्वीर संकलन गरिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, वडा नं ६ का अध्यक्ष गोपीलाल मुक्तान, वडा नं ७ का अध्यक्ष ठाकुरराम तितुङ, वडा नं ८ का अध्यक्ष दिलबहादुर स्याङ्तान, विभिन्न कार्यालयका प्रतिनिधिहरु, समाजसेवी, शिक्षक तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
शिविरकै क्रममा मनहरी गाउँपालिकाले विद्यालयको भौतिक अबस्थाबारे अनुगमन गरेको थियो भने आगामी आर्थिक बर्षका लागि योजना तर्जुमाका सन्दर्भमा स्थानीयबासिन्दाहरुसँग भलाकुसारी गरेको थियो ।