जानकी मेडिकल कलेजले सञ्चालन गरेको शिक्षण अस्पतालको शाखा अस्पतालमा चिकित्कसहरुले तालाबन्दी गरेका छन्।
जागिर छोडेको एक वर्ष बित्न लाग्दा समेत बाँकी तलब नपाएपछि चिकित्सकहरुले अस्पतालमा तालावन्दी गरेका हुन्। बाँकी तलबको माग गर्दै आधा दर्जन पूर्व चिकित्सकहरुले जनकपुरको ब्रह्मपुरीस्थित शाखा अस्पतालको रुपमा सञ्चालित जानकी मेडिकल शिक्षण अस्पतालमा आइतवार विहान झण्डै २ घण्टा तालाबन्दी गरेका हुन्।
विगतमा काम गरेको ९ लाख ५० हजार रुपैयाँ पारिश्रमिक बाँकी राखेको भन्दै बाध्य भएर तालाबन्दी गरिएको डा. कर्मेन्द्र यादवले बताए। यादवका अनुसार डा.अनिल मण्डलको २ लाख १५ हजार, डा.विपीन झाको १ लाख ५० हजार रुपैयाँ तलब लिन बाँकी छ।
अस्पताल छाडिसकेका डा. सम्भु साह, गौतम झा, डा.अस्विनी झा, डा.आशोक अधिकारी, डा.सरोज यादव लगायत झण्डै ५० भन्दा बढी कर्मचारीको लाखौं रुपैयाँ अस्पतालमाथि बाँकी रहेको उनीहरुले बताए। अस्पताल व्यवस्थापन पक्षसँग पटक–पटक बाँकी तलब दिन आग्रह गर्दापनि अटेर गरेकाले बाध्य भएर काउण्टरमा तालाबन्दी गरेको चिकित्सकहरुको भनाइ छ।
यता अस्पताल व्यवस्थापन पक्षले भने बाँकी बक्यौता तलबको विषयमा आफूहरुलाई जानकारी नभएको बताएको छ।