स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियाल बेटिसलाई ४–१ ले हराएको हो।
रियाल बेटिसको मैदानमा बार्सालाई सहज जित दिलाउन कप्तान लियोनल मेसीले ह्याट्रिक गरे। उसका लागि लुइस सुवारेजले अर्को एक गोल थपे। घरेलु टोली रियाल बेटिसका लोरेन मोरोनले एक सान्त्वना गोल फर्काए। ला लिगा फुटबलका अन्य खेलहरुमा सेभियाले इस्पानियोललाई १–० ले हराउँदा भियारियालले रायो भायकानोमाथि ३–१ को जित निकाल्यो।
रियाल भालाडोलिडले आइबारलाई २–१ ले हराउँदा गेटाफे र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन्। आइतबार रातिका खेलहरुसँगै स्पेनिस लिग फुटबलमा बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ।
समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियाल मड्रिडको ५४ अंक छ।