राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन्।
नेपालगञ्जमा आज ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने–“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैत भित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।” यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए । यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न सदस्य सचिव विष्टले आग्रह गरे । आठौँ राष्ट्रिय खेलकूद २०७५ सालभित्र गर्ने नेपाल सरकार, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्का कर्मचारी र खेलाडीको चाहना रहेको उनले उल्लेख गरे ।
जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत गरिएको खेलाडी छनोटमा २५ करोड खर्च भइसकेको विष्टले जानकारी दिए । नेपालगञ्जमा चैतमा अत्यधिक गर्मी हुने भएकाले अधिकांश खेल साँझ र बिहानमा खेलाइने तयारी गरिएको उनको भनाइ छ । प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणकै कारण प्रतियोगिता रोक्नुपर्ने नभएको बताए । उनका अनुसार ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।