इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १२ औं संस्करणमा साबिक विजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ।
गएराति भएको उद्घाटन खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ७ विकेटले हराउँदै महेन्द्र सिंह धोनीको चेन्नईले सुखद सुरुवात गरेको हो।
खेलमा बैंङ्लोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो। चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए। यस्तै सुरेश रैनाले १९ रन जोडे। योसँगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंङ्लोरले १७ ओभर १ बलमा अलआउट हुनुपूर्व ७० रन मात्रै बनाएको थियो। बैंङ्लोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए।
आईपीएल क्रिकेटमा आज दुई खेल हुनेछन्। आजको पहिलो खेलमा कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दा दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच हुनेछ। नेपालका सन्दिप लामिछानेको टोली दिल्लीले राति सवा आठ बजे मुम्बईसँग खेल्न लागेको हो।