आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीको भैरहवामा बुधबारदेखि राष्ट्रिय पुरुष टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ।
‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको सांसद घनश्याम भुषालले उद्घाटन गरे।
उद्घाटन खेल प्रदेश नम्बर ५ तथा नेपाल पुलिस क्लब बीच भएको र दोस्रो खेल सशस्त्र प्रहरी बल तथा प्रदेश नम्बर ७ बीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष तथा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक प्रशान्त विक्रम मल्ले बताए।
यस अघि लन टेनिस प्रतियोगिता पनि रुपन्देहीमै सम्पन्न भैसकेको छ। क्रिकेट प्रतियोगिता उद्घाटनका अवसरमा वोल्दै नेता भुसालले खेलकुदको क्षेत्रमा मुलुकले राम्रो काम गर्न नसकेको बताए। उनले खेलकुद क्षेत्रको विकासको लागि खेलाडीहरुले आफै गरेको बताए।
उनले खेलाडीहरुले आवश्यक प्रोत्साहन र तालिम नपाएको र खेलका प्रशिक्षकहरुलाई पनि राज्यले प्रोत्साहित गर्न नसकेको बताए। खेल क्षेत्रको विकासका लागि लगानी बढाउन उनको सुझाव छ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उर्वरभुमिको रुपमा पहिचान बनाउन सफल भएको रुपन्देहीले इतिहास कायम गर्ने बताए। सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि नगरपालिका हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताए।