आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङमा विहीबारदेखि एथ्लेटिक्सका इभेन्ट शुरु भएका छन्।
बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्स अन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुटका इभेन्ट सकिएका छन्।
१ सय मिटर दौडमा महिलातर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छन्। उनले १२ मिनेट १९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन्। प्रदेश ५ की जयरानी चौधरीले १२ मिनेट १९ सेकण्डका साथ रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरी १२ मिनेट ५२ सेकेण्डका साथ कास्य पदक जित्न सफल भइन्।
यसैगरी, एक सय मिटर पुरुष दौडमा विभागीय क्लब एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते। उनले ११ सेकण्डमा दूरी पुरा गरेका थिए। कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११ दशमलब १० सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए।
१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढा स्वर्ण पदक जित्न सफल भइन्। दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पछाईसँग समय भने समान रहेको थियो। पहिलो र दोस्रो स्थानमा रहने विश्वरुपा र राजपुराले ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो।
यस्तै, प्रदेश ३ की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डमा दूरी पूरा गरेर कास्य पदक जितिन्। १० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन्। उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन्। गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते।
सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन्। उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते। यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन्।
त्यस्तै, महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितिन्। उनले १२.०४ मिटरमा आफनै पुरानो रेकर्ड ११ मिटर ५६ सेन्टिमिटरको रेकर्ड ब्रेक गरेकी हुन्। प्रदेश ५ की संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन्।