आठौं राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फुटबलमा गण्डकी प्रदेश र प्रदेश ३ ले बराबरी खेलेका छन् । बाँकेको खजुरा मैदानमा विहीबार भएको पहिलो खेलमा दुवै टिमले दुई–दुई गोलको बराबरी खेल्दै एक–एक अंक लिन सफल भए । गण्डकी प्रदेशले १४ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि २६ औं मिनेटमा प्रदेश ३ ले बराबरी गोल गरेको थियो ।
प्रदेश ३ का लागि सुरेश कुमालले बराबरी गोल गरेका हुन् । पहिलो हाफ एक–एक गोलको बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा पनि त्यति नै गोल नै गरेका थिए । ६७ औं मिनेटमा प्रदेश ३ का लागि सुरेश खत्रीले गोल गर्दै २–१ को अग्रता बनाएका थिए । तर त्यसको एक मिनेटपछि नै गण्डकी प्रदेशले खेल बराबरी गरेको थियो । ६८ औं मिनेटमा टिकाराज गुरुङले बराबरी गोल गरेका हुन् ।