आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गाडेले शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
दाङको बेल्झण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् । पहिलो दिन बिहीबार चन्द्रकलाले सटपुटमा पनि कीर्तिमानी स्वर्ण जितेकी थिइन् । आर्मीकी लक्ष्मी थारु दोश्रो तथा एपीएफकी सीमाकुमार थारु तेश्रो भए ।
उक्त स्पर्धमाको पुरुषमा आर्मीका रोहित चौधरी पहिलो भए । उनले ५६.५८ मिटर टाढा फाले । एपीएफका मनोज डगौरा दोश्रो तथा प्रहरीका वीरेन्द्र चौधरी तेश्रो बने ।
पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण जिते । निर्धारित दूरी तय गर्न टंकले ४ मिनेट ०१.९ सेकेन्ड समय लगाए । आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराईले शीर्ष स्थान हात पारिन् । सरस्वतीले ४ मिनेट ३६.० सेकेन्ड समय खर्चिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठ दोश्रो तथा एपीफकी फुलमती राणा तेश्रो भए ।
पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्री पहिलो भए । उनले ६.९६ मिटर हाम्फाले । प्रदेश ३ का भुवन महतो दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको महिलामा ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो भइन् । एपीएफकी शिला चौधरी दोश्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेश्रो भए ।