दाङको बेलझुण्डीमा जारी आठौ राष्ट्रिय खेलकूद अन्र्तगत एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत दाजु-भाइ र श्रीमान-श्रीमतीले स्वर्ण पदक जितेका छन् । यी चारै जना विभागीय क्लब एपीएफका खेलाडी हुन् ।
एपीएफका गोपीचन्द्र पार्की र शिबराज पार्की दाजू भाई हुन भने सोही क्लबबाट खेल्ने निरप्रताप महतो र शिला चौधरी श्रीमान श्रीमती हुन् । श्रीमान श्रीमति भएर एथ्लेटिक्समा सहभागीता जनाएका दुवै जनाले स्वर्ण पदक जित्दा दंग छन् । शिलाले हाइजम्प र ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छिन् भने उनका श्रीमान निरप्रताप महतोले ४ मिटर रिले दौडमा स्वर्ण पदक हात पारे । छैटौं राष्ट्रिय खेलकूदबाट सहभागीता जनाउँदै आएका उनी त्यतिबेला विकास क्षेत्रबाट खेलेका थिए ।
श्रीमती शिला चौधरी पनि २०६९ चैत २२ मा एपीएफ क्लबमा सहभागी भइन् । शुरुमा करारमा रहेकी शिला पछि क्लबको जागिरे खेलाडीको रुपमा गएकी थिइन् । विद्यालय तहमा अध्ययन गर्दा भलिबल र एथ्लेटिक्स खेल्ने शिलाले जारी आठौं राष्ट्रिय खेलकूदमा हाइजम्प र ट्रिपल जम्पमा स्वर्ण पदक जितिन् ।
निर प्रताप र शिला श्रीमान श्रीमति भए जस्तै आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण पदक जित्ने दाजू भाई पनि छन् । ती हुन् गोपीचन्द्र पाकी र शिबराज पार्की । धनगढीका दुई भाई अहिले एपीएफ क्लबबाट बेलझुण्डीमा जारी एथ्लेटिक्समा स्वर्ण पदक जिते पछि चर्चामा रहेका छन् । गोपीचन्द्र पार्कीले यसअघि पनि थुप्रै्रपटक स्वर्ण पदक जिति सकेका हुन् भने उनका भाई शिबराज पार्कीले पहिलो पटक स्वर्ण पदक हात पारे । ४ सय मिटर दौडमा आफ्नै विभागका खेलाडीसँग पराजित भएर रजत पदक जितेका शिबराजले ४ सय मिटर रिले दौडमा उनैको समूहमा रहेर स्वर्ण पदक हात पार्न सफल भए ।
धनगढीको निम्नबर्गीय परिवारमा ५ जना दाजूभाई मध्य गोपी काइलो र शिबराज कान्छा छोरा हुन् । २८ वर्षको उमेरका गोपीले आफूले २०२० को टोकियो ओलम्पिक खेल्ने गरि तयारी गरिरहेको बताउँदै त्यसभन्दा अघि आउँदै गरेको साग गेम्समा केन्द्रीत हुने बताए ।