ण्डोनेशियामा हुने १५औँ एशिया प्रशान्त सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट पाँच पुरुष र चार महिला गरी नौ खेलाडी छनोट भएका छन् ।
नेपाल सितोरियो कराते सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिए । उक्त प्रतियोगिता इण्डोनेशियाको जकार्तामा आगामी मङ्सिर ५ देखि ९ गतेसम्म हुँदैछ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा आज भएको प्रतियोगिताको पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बाँस्तोला पहिलो भए । उनले फाइनलमा आफ्नै विभागका प्रवीण मानन्धरलाई पराजित गरे ।
पुरुष ५५ केजीमुनि नेपाल प्रहरीका विजय श्रेष्ठ पहिलो भए । उनले फाइनलमा प्रहरीकै सोनाम लामालाई हराए । पुरुष ६० केजीमुनि काठमाडौँका अनिश लामा, ६७ केजीमुनि केन्द्रीय डोजोका आशिष थापा र ८४ केजीमाथि एपिएफ क्लबका डिगम्बरप्रसाद पन्त पहिलो हुँदै प्रतियोगिताका लागि छनोट हुन सफल भएका छन् ।
महिला एकल कातामा प्रहरीकी चञ्चला दनुवारले आर्मीकी रिना श्रेष्ठलाई पराजित गर्दै छनोट हुन सफल भइन् । महिला ५० केजीमुनि सेनाकी कुसुम खड्का पहिलो भइन् । कुसुमले फाइनलमा सेनाकै मिस्ली श्रेष्ठलाई हराइन् ।
पचपन्न केजीमुनि एपिएफकी मनिषा चौधरीले खोटाङकी विद्याकला राईलाई पछ्याउँदै पहिलो स्थान हात पारिन् । एकसठ्ठी केजीमुनि सेनाकी सनी तामाङ छनोट हुन सफल भइन् ।
फाइनलमा सनीले प्रहरीकी सुनिता महर्जनलाई हराइन् । एकदिने छनोट प्रतियोगितामा ६१ पुरुष खेलाडीले पाँच स्पर्धा तथा ४५ महिला खेलाडीले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।