पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ।
मंगलबार पोखरा रंगशालामा भएको फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै शरद भेष्वाकरको टिम पोखरा पल्टनले उपाधि जितेको हो। उपाधिसँगै पोखरा पल्टनले २७ लाख रुपैयाँ हात पारेको छ।
पारस खड्का कप्तान रहेको चितवन राइनोजले दिएको १६१ रनको लक्ष्य पोखरा पल्टनले १९ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। पोखरा पल्टनका लागि रवि इन्दर सिंहले सर्वाधिक ९० रन जोडे। ५८ बलको सामना गरेका रवि इन्दर सिंहले ३ छक्का र १३ चौका प्रहार गर्दै ९० रन बनाए।
यस्तै, मोहम्मद नाभिदले २५, कप्तान शरद भेष्वाकरले २२, आसिफ शेषले १२ रन जोड्दा कुशल भुर्तेल ४ रनमा आउट भएका थिए। विनोद भण्डारी ५ रनमा अविजित रहे।
चितवन राइनोजका लागि भुवन कार्कीले दुई तथा पारस खड्का, सन्नी पटेल र करण केसीले समान एक–एक विकेट लिएका थिए।
यसअघि पहिले टस हारेर व्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रनको बनाएको थियो। चितवनका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान दिएका थिए।
यस्तै, सन्नी पटेलले ४३, अनिल कुमार साहले ३७ रन जोड्दा आरिफ शेख १४ रनमा अविजित रहे। पोखरा पल्टनका कृष्ण कार्कीले दुई विकेट लिँदा ललित राजवंशी र मोहम्मद नाभिदले समान एक–एक विकेट लिएका थिए।