नेपालगन्जमा आयोजना हुन गईरहेको आठौं राष्ट्रिय खेलकुद खेलकुद प्रतियोगिताको भौतिक संरचना निर्माण कार्यले तिब्रता लिएको छ ।
प्रतियोगिताको समय नजिकिदैं जाँदा निर्माण कार्यले तिब्रता पाएको हो । यसै क्रममा नेपालगन्ज रंगशाला परिसरमा निर्माण भईरहेको अत्याधुनिक शुटिङ्ग रेन्ज भवनको ढलान कार्य शुरु गरिएको छ । तिनतले रहने उक्त भवनको बुधबार पहिलो तलाको ढलान गरिएको हो । १५ जना खेलाडीले एकैपटक प्रतिस्पर्धा गर्न सक्नेगरि रेन्ज निर्माण गरिदैंछ ।
आठौं खेलकुदमा सफल रुपमा शुटिङ्ग खेल संचालन गर्नका लागि हाल भुईतलालाई पुर्ण रुपमा तयार गरिने मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले जानकारी दिएका छन् । उनका अनुसार बाँकी निर्माण कार्य प्रतियोगिता पश्चात पुनः शुरु गरिने छ ।
३ करोड रुपैयाको लगानीमा तयार हुने सो शुटिङ्ग रेन्जको भुईतला निर्माणमा १ करोड रुपैया लागत रहेको अध्यक्ष ओलीले जानकारी दिए । शुटिङ्ग रेन्ज सम्पुर्ण रुपमा तयार भईसकेपछि त्यसलाई एकेडेमीको रुपमा संचालन गरिने अध्यक्ष ओलीले बताए । यसअघि आईतबार बर्दियाको बाँसगढीमा निर्माण भईरहेको कपर्दी कवर्डहलको डिपीसी गरिएको थियो भने कोहलपुरस्थित क्रिकेट मैदानको पीच निर्माण कार्य अन्तिम चरणमा रहेको बताईएको छ ।