शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल अगावै च्याम्पियन बनिसकेको मनाङ मर्स्याङदी क्लबले मंगलबार ट्रफी उठाउँदैछ।
फ्रेन्ड्सविरुद्ध हुने मंगलबारको अन्तिम खेलमा उसलाई नतिजाले असर पर्ने छैन। तर पनि जित हासिल गरेको खण्डमा उसले एउटा कीर्तिमान राख्नेछ। त्यो हो, शतप्रतिशत जित। लिगमा शतप्रतिशत जित निकालेर ३६ अंक जोडेको मनाङ अब एक जितबाट टाढा छ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले लिग जितिसकेको अवस्थामा शतप्रतिशत जितको कीर्तिमानका लागि खेल्ने बताएका छन्। जारी लिगमा फ्रेन्ड्सको कमजोर प्रदर्शन भइरहँदा मनाङका लागि कीर्तिमानी यात्रा सहज हुन सक्छ।
झण्डै पाँच वर्षको अन्तरालमा गएको असोज १३ गतेदेखि सुरु भएको ए डिभिजन लिग ३ महिना १० दिनपछि मंगलबार सकिन लागेको हो। रेलिगेसनको व्यवस्था नभएको तथा पुरस्कार राशी पनि अघिल्लो संस्करणभन्दा घटाइएको यो लिग सुरुआतदेखि विवादित बनेको हो। पाँच वर्षको अन्तरालमा भए पनि एन्फाले लिग सुरु गर्न सकेको छ।
लिगमा शीर्ष ६ टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही एक एक थान मोटरसाइकल पुरस्कार पाउनेछन्।