भ्याली च्यासल युवा क्लबले तेस्रो नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्गत तेस्रो खेलमा दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । च्यासलको जिकतमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरे ।
बिहीबार धनगढी रंगशालामा च्यासलले खेलको१४ औं मिनेटमा अग्रता लिएको थियो । एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए । ३१ औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो ।४० औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन् ।
दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दवाव कायम राख्यो । ६१ औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडी बढाए ।७३ औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडी बढ्यो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए ।खेलको आरके कन्स्ट्रक्सन ’म्यान अफ द म्याच’ बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे।
यस जितसँगै च्यासलले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । च्यासलले अब रुस्लान थ्रीस्टारको सामना गर्नेछ । विजयी टोलीका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भएपनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए ।
पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाईका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरुप खेल्न नसकेको बताए ।शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ ।