दुई वर्षदेखि रोकिएको नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलव अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी) ले निकासा गरेको छ । सन् २०१६ देखि रोकिएको तलब वापतको रकम आईसीसीले आज खेलकुद परिषद्को खाता रहेको स्टान्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।
२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि नेपाली खेलाडीहरुले तलब पाउन सकेका थिएनन् । क्यान निलम्बनमा परेपछि प्रत्यक्षरुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।
खेलाडीको तलब रिलिज गर्नका लागि राखेपले ३ पटकसम्म पहल गरेको थियो । सुरुमा दुई किस्तामा तलब निकासा गर्ने बताए पनि राखेपका सदस्य सचिव केशबकुमार विष्टले थप पहल गरेपछि एकमुष्ट रकम जम्मा भएको प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
तलव वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् ।
ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् ।
बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।
खेलाडीहरुको तलब निकासा भएकाले अबको एक दुई दिनमा वितरण गरिने पनि राखेपका प्रेस सल्लाहकार दाहालले बताए ।