तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ दशमलब ५ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। काठमाडौंका लागि अंकित दबासले २८, गौरब तोमरले २८ र अनिलकुमार शाहले २४ रन जोडेका थिए। यस्तै, महबुब आलम १२ तथा विक्रम भुसाल १४ रनमा अविजित रहे।
धनगढीका लागि रोहन मुस्ताफाले चार विकेट लिँदा विपिन खत्री र अमिर हायतले एक–एक विकेट हात पारेका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो। धनगढीका लागि अमित श्रेष्ठ सर्वाधिक ५० रन बनाएका थिए। यस्तै, सन्दीप रजालीले २८ र सौरभ खनालले २५ रनको योगदान दिएका थिए।
काठमाडाैंका लागि नन्दन यादवले २ तथा ललित राजवंशी र अंकित दावसले एक-एक विकेट लिएका थिए।
तेस्रो संस्करणको डिपिएल क्रिकेट विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको ‘मोष्ट भ्यालुएबल प्लेयर’लाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गरिने आयोजकले जनाएको छ।