आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार भएको समुह चरणको आफ्नो तेस्रो खेलमा ४२ रनकाे लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । यसैगरी काजल श्रेष्ठले १५ रन बनाउँदा सरिता रानामगरले ६ रनकाे याेगदान गरिन्।
टस जितेर पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो। युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन्। अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लिईन्। यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २-२ विकेट लिए।
नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। युएईले ४ खेलबाट ६ अंक जोडेको छ। पराजित भएपनि युएई तालिकाको शीर्ष स्थान यथावत छ। नेपाल भने आफ्नो दोस्रो खेलमा थाईल्याण्डसंग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको हो। लिगको चौथो चरणको खेलमा शनिबार नेपालले हङकङसंग प्रतिस्पर्धा गर्नेछ।