सिवाईसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले पहिलो पटक उपाधि जितेको हो।
उपाधिसंगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो।
फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले एक बल बाँकी भएका बेला ७ विकेट गुमाएर पुरा गरेकाे थियाे।
अत्तरियाको जितमा सन्नी पटेलले अविजित रहदै सर्वाधिक ४७ रन जोडे। अन्तिम २ बलमा ३ रन आवश्यक हुँदा पाँचौ बलमा सन्नीले छक्का प्रहार गर्दै अत्तरियालाई च्याम्पियन बनाए। २६ बलको सामना गरेका सन्नीले ३ चौका र ३ छक्का प्रहार गरे।
यस्तै जय किशन कोल्शावालाले ३० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएर आउट भए।
महेन्द्रनगरका मोहमद नाभिद र सागर ढकालले समान २/२ विकेट लिए। अविनाश बोहरा र शाहब आलमले १/१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो।
खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले ४३ तथा कुशल मल्लले २५ रन जोडे। मात्र १४ रन जोड्दा २ विकेट गुमाएको महेन्द्रनगरको इनिङस दिलिप र कुशलले सम्हालेका थिए।
महेन्द्रनगरका रोहित कुमार पौडेलले २४, आरिफ शेख ११ तथा मोहमद नाभिद १० रनमा आउट भए।
अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले समान २-२ विकेट लिए। सन्नी पटेलले १ विकेट लिए। महेन्द्रनगरका पाँच जना खेलाडी अत्तरियाकाे कडा फिल्डङकाे धरापमा परेका थिए।
यसअघि महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको थियो। अत्तरियाले पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै हराएर फाइनल पुगेको हो।
अत्तरियाका कप्तान ऐरी धनगढी प्रिमियर लिगको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिए। गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएसंगै दीपेन्द्रले गोल्डेन शु (सुनको जुत्ता) हात पारेका छन्। यस्तै अत्तरियाकै सन्नी पटेल प्लेयर अफ दी सिरिज चुनिएका छन्। उत्कृष्ट ब्याट्सम्यान पनि सन्नी पटेल चुनिदा उत्कृष्ट बलर अत्तरियाकै भुवन कार्की घोषित भए।