आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले हङकङमाथि ४ विकेट जित हात पारेको छ।
हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले १८ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो। नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४ रन जोडिन्।
यस्तै, सरिता मगर १६ रनमा अविजित रहँदा कप्तान रुविना क्षेत्रीले ६, काजल श्रेष्ठ र इन्दु बर्माले समान ४–४ रन जोडेका थिए। रोमा थापा २ रनमा पभिलियन फर्किदा सीता राना मगर सून्य रनमै आउट भएकी थिइन्।
हङकङका लागि जस्मिन टिमुसले तीन तथा क्यारी छान, मारिको हिल र इ सान टुले समान एक–एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो। उसका लागि मरिनाले सर्वाधिक १९, यास्मिन दसवानीले १६ तथा बेल्ला पोनले ११ रनको योगदान दिएका थिए।
हङकङलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ६ विकेट तथा सरिता राना मगरले २ विकेट लिएका थिए।