स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले महत्वपूर्ण जित निकालेको छ।
लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई २–१ ले हराएको हो।
यो खेलको अन्तिम समयतिर दुवै टिम १० खेलाडीमा सीमित भएका थिए। ८६ औँ मिनेटमा नाचो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो।
८८ औँ मिनेतमा रोचिना दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभान्टे पनि १० खेलाडीमा सीमित भयो। त्यसअघि नै दुवै तर्फबाट गोल भएका थिए।
४३ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले गोल गरेका हुन्। रोजर मार्टीले ६० औँ मिनेटमा लेभान्टेका लागि बराबरी गोल फर्काए। ७८ औँ मिनेटमा रियल मड्रिडले पेनाल्टी पायो र ग्यारेथ बेलले त्यसमा गोल गरे। दुवै पेनाल्टी रियल मड्रिडले भिएआर मार्फत पाएको हो।
जितपछि तेस्रो स्थानको रियल मड्रिडको २५ खेलबाट ४८ अंक भएको छ। उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा दुई तथा शीर्षस्थानको बार्सिलोना भन्दा ९ अंकले पछि छ।