थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ।
नेपालले दिएको ११७ रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रनमै समेटियो। कुवेतका लागि मरियम ओमरले सर्वाधिक २९ रन जोडिन्। यस्तै, प्रियदा मुरालीले १४ र सव्रिन जाकीले १२ रन जोड्दा मरियामा हेदर १२ रनमा अविजित रहिन्।
नेपालका लागि कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान तीन–तीन विकेट लिए भने नेरी थापा र कविता कुँवरले एक–एक विकेट हात पारे।
यसअघि बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनाएको थियो।
खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिइन्। कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाइन् भने नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७–७ रन जोडे।
नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा आउट भएका थिए। कुवेतका मरियम ओमर र प्रियादा मुरालीले समान २–२ विकेट हात पारेका थिए।